किन गृहमन्त्रालय रोजे रवि लामिछाने ?
- २३ फाल्गुन, २०८०
- राजनिति
- Nepal Updates
रवि लामिछानेले गृह मन्त्रालय रोज्नुको कारणबारे बोलेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण गरेलगत्तै बुधवार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सुरुमै गृह मन्त्रालय रोज्नुको कारणबारे स्पष्ट पारेका हुन् ।
उपप्रधानमन्त्री लामिछानेले त्यस अवसरमा आफ्नो कुनैपनि दबाब र प्रभावमा नपरी कानुनी राज्यको स्थापनाका लागि काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिए । उनले कानुनी राज्य स्थापना गर्ने सिलसिलामा कुनैपनि राजनीतिक प्रभावमा नपरी काम गर्न पनि सम्बन्धित निकायलाई सचेत गराए । उनले आफ्नो नभई आम नागरिकको सुरक्षाका चिन्तित हुन पनि सुरक्षा निकायका सबै अधिकारीहरुलाई अपिल गरे ।
उपप्रधानमन्त्री लामिछानेले भने, ‘निरन्तरता मात्रै होस् भन्ने सोच बनाएर गृह मन्त्रालय रोजेका चाहिँ होइन । जे चलिरहेको छ, त्यो चलिरहनु भन्दा अलि फरक किसिमले आम नागरिकले महसुस गर्नसक्ने गरी काम गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ यो चुनौतीका लागि हामी यहाँ उपस्थित भएको हौ, आएका हौं । यसैकारण यो जिम्मेवारी लिने निधो गरेको हुँ । आपसी सहयोग, आपसी सहकार्यमा हामी राष्ट्रका सामु देखिएका चुनौतीहरूलाई सामना गर्न सक्षम हुन्छौँ भन्ने कुरामा म पूर्ण रुपमा विश्वस्त छु ।’
यसअघि उपप्रधानमन्त्री लामिछानेलाई मन्त्रालयका सचिव भट्टराईसहितका उच्च अधिकारीहरुले मन्त्रालयमा स्वागत गरेका थिए ।