१४ श्रावण २०८३, बिहीबार
30 July 2026,Thursday

गाजा युद्धको प्रभाव भारतसम्म, इजरायली दूतावासमा अर्धसैनिक बल तैनाथ

सोसल सेयर

नयाँ दिल्लीस्थित इजरायली दूतावासको बाहिरी क्षेत्रमा विस्फोट भएको सूचनापछि अर्धसैनिक बल दूतावासबाहिरको क्षेत्रमा तैनाथ गरिएको छ । प्रहरीका अनुसार दूतावासमा दुई दिनपहिले विस्फोट भएको भन्ने खबर प्रहरीलाई आएपछि प्रहरी त्यहाँ पुगेको हो ।

दूतावास क्षेत्रवरिपरि बिहीबार आवतजावतमा प्रतिबन्ध लगाइनुका साथै अर्धसैनिक बलको तैनाथी गरेका दृश्यहरू देखिएका छन् । दिल्ली प्रहरीलाई मंगलबार चाणक्यपुरी कूटनीतिक क्षेत्रस्थित इजरायली दूतावासनजिकै ‘विस्फोट’ भएको फोन आएको थियो ।

तर, अधिकारीहरूले घटनास्थलमा त्यस्तो केही नभेटिएको बताएका थिए ।  विस्फोट भएको सूचनासहितको फोन दिल्ली फायर सर्भिसले साँझ ६ बजे प्राप्त गरेको थियो । बुधबार घटनाको छानबिन गर्न राष्ट्रिय अनुसन्धान एजेन्सी एनआईएलाई खटाइएको थियो ।

अनुसन्धानका लागि दिल्ली  प्रहरीले  सीसीटीभी फुटेज जाँचपछि दुई ‘सन्दिग्ध’ लाई नियन्त्रणमा लिएको छ । यद्यपि अधिकारीहरूले उनीहरूको संलग्नता भने पुष्टि गरेका छैनन् । स्रोतका अनुसार मंगलबार साँझ इजरायली दूतावासनजिकै घुमिरहेका दुई व्यक्ति ‘विस्फोट’ घटनाका शङ्कास्पद व्यक्तिका रूपमा देखा परेका छन् ।

स्रोतका अनुसार ‘सीसीटीभी फुटेजमा घटनाको समयमा दुई जना उक्त क्षेत्रमा घुमिरहेका देखिन्छन् । घटनामा उनीहरूको भूमिका भने अझै प्रस्ट हुन सकेको छैन । थप अनुसन्धानपछि उनीहरू घटनाको समयमा त्यस क्षेत्रमा के गर्दै थिए भन्ने प्रस्ट हुनेछ ।

प्रहरीले  सन्दिग्ध व्यक्ति कसरी त्यहाँ पुगे र के गरे भन्ने पत्ता लगाउन वरपरका सीसीटीभी जाँच गरिरहेको र उनीहरूकोे पहिचानका लागि पनि प्रयास गरिरहेको बताएको छ । दिल्ली प्रहरीले मंगलबार साँझ ‘विस्फोट’ बारेको जानकारीका सम्बन्धमा इजरायल दूतावासनजिकै राजदूतलाई सम्बोधन गरेको पत्र फेला पारेको छ ।

इजरायली दूतावासलाई अङ्ग्रेजीमा लेखेको पत्रमा धम्कीपूर्ण शब्दहरू प्रयोग गरिएको थियो । चिट्ठीमा नाम लेखिएको समूह सर अल्लाह रेजिस्टेन्सको खोजी भएको बताइएको छ । रासस

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*