नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई आवश्यक कर्मचारी भर्ना गर्न अर्थ मन्त्रालयले अनुमति नदिएको गुनासो गरेका छन् ।
बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित मन्त्रालय र मातहतका उच्च अधिकारी सम्मिलित बैठकमा उनले प्राधिकरणका लागि आवश्यक कर्मचारी भर्ना गर्न अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाएको लामो समय भएपनि अनुमति नपाएको गुनासो गरे । प्राधिकरणलाई चार हजार बराबर इलेक्ट्रिकल इञ्जिनियर आवश्यक रहेको भएपनि अनुमति नपाउँदा भर्ना गर्न नसकिएको उनको भनाइ छ।
‘बेरोजगार अवस्थामा रहेका इन्जिनियरलाई काम दिन्छु भन्दा पनि अनुमति नपाएर बस्नु परेको छ’ उनले भने, ‘तत्काल त्यसका लागि सहजीकरण गरिदिन आग्रह गर्दछु ।’
बैठकमा ऊर्जा मन्त्री शक्ति बस्नेत तथा मन्त्रालयका तीन जना सचिवसहित उच्च अधिकारीहरु सहभागी थिए ।