१५ श्रावण २०८३, शुक्रबार
31 July 2026,Friday

पाटन अस्पतालमा भर्ना भएका दुई बिरामीको सुईबाट औषधि दिए लगत्तै मृत्यु

सोसल सेयर

पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईबाट औषधि दिएको केही बेरमै मृत्यु भएको छ । निमोनियाको उपचार गराईरहेका ओखलढुंगाकी ९० बर्षीया जनमाया राई र ललितपुरका ६८ बर्षीय कृष्णबहादुर नगरकोटीको औषधि दिएको केही बेरमै मृत्यु भएको हो ।

मृत्युपछि आफन्तहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरवाही भएको आरोप लगाउदै आक्रोशित भएका थिए । सो क्रममा उनीहरुले डिउटीमा रहेका केही चिकित्सक तथा नर्सहरुमाथि हातपात तथा दुर्व्यहार गरेको बताइएको छ । हातपात र दुर्व्यहारको विरोधमा पाटन अस्पतालका आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

घटना के थियो ?
घटना शनिबार दिउँसोको हो । अस्पतालको जेष्ठ नागरिक वार्डमा भर्ना भएका उनीहरुमाथि ड्युटीमा भएका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि चलाएका थिए । त्यसको पाँच मिनेटमै दुबै बिरामीको मृत्यु भएको थियो ।

अस्पतालका मेडिसिन विभागका प्रमुख प्राडा युवराज शर्माका अनुसार दुबै बिरामीलाई ‘सेफ्ट्रियाक्सोन’ र रगत पातलो गर्ने औषधि ‘हेपारिन’ चलाइएको थियो ।

मृत्यु भएका नगरकोटी १० कात्तिकमा र राई १६ कात्तिकमा उपचारका लागि अस्पतालको जेष्ट नागरिक वार्डमा भर्ना भएका थिए ।

प्राडा शर्माले उनीहरु दुवै एउटै वार्डमा भर्ना भएको बताए ।

‘दुबैलाई निमोनियाको गम्भीर संक्रमण थियो । उनीहरुलाई अक्सिजन दिएर उपचार गरिएको थियो । नगरकोटीमा भने निमोनियासँगै कलेजोको समस्या देखिएको थियो । तर, उनको स्वास्थ्य अवस्था सुधार आउँदै गएकोले अक्सिजन सहित डिस्चार्ज गर्ने तयारी थियो,’प्राडा शर्माले भने ।

‘यी दुबै औषधि सुरक्षित हुन र भर्ना भएका बिरामीलाई सबैभन्दा बढी प्रयोग हुने औषधि हुन् । उहाँहरुलाई पनि सुरु देखि नै यहि औषधि चलाउँदै आएको हो । सुधार पनि हुँदै थियो । तर अचानक स्वास्थ्य विग्रियो,’ प्राडा शर्माले भने । उनले बिरामीको मृत्यु हुनुमा इन्जेक्सन नै मुख्य कारण नहुन पनि सक्ने बताए । उनले बिरामीको मृत्यु हुनुमा अन्य धेरै कारण हुनसक्ने बताए ।

अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार कहिलेकाहीँ जेष्ठ नागरिकको अचानक मृत्यु हुनु स्वाभाविक मानिन्छ । ‘नर्सले औषधि दिइसकेपछि तुरुन्तै ५ मिनेट भित्र नै दुवैको मृत्यु भएको थियो । त्यसकारण पनि बिरामीको आफन्तलाई शंका उत्पन्न भएको हो,’ शाक्यले भने, ‘औषधिकै कारणले मृत्यु नभएकोमा हामी विश्वस्त छौं । यद्यपि हामी पनि के कारण भयो भन्ने कुरा जान इच्छुक छौं ।’

आइतबार ललितपुरको प्रहरी प्रशासनको रोहबरमा अस्पताल प्रशासन र बिरामीको आफन्तबीच छलफल भएको थियो । जुन छलफलबाट औषधि परीक्षण र मृत्युको कारण पत्ता लगाउनका लागि पोस्टमार्टम गरिने भएको थियो । सोही अनुसार सो व्याचको औषधि परीक्षणका लागि पठाइएको डा शर्माले बताए ।

उनले ९० वर्षीया राईका आफन्तले हिजो नै शब बुझेको बताए । यता नगरकोटीको शब भने पोष्टमार्टम लागि अस्पतालमा राखिएको छ ।

चिकित्सक आन्दोलनमा
यसैबीच बिरामीको मृत्युपछि आफ्ना सहकर्मीहरुमाथि कुटपिट तथा दुर्व्यहार भएको भन्दै पाटन अस्पतालका आवासीय चिकत्सिकहरु आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको नामबाट उनीहरुले आन्दोलन सुरु गरेका हुन् । उनीहरुको आन्दोलनका कारण पाटन अस्पतालको सेवा प्रभावित भएको बताइएको छ ।

अस्पतालका चिकित्सक डा दिक्षान्त आचार्यका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो कर्तव्य निर्वाह गरिरहेका बेला बिरामीका आफन्तहरुले कुटपिट गरेका थिए । उनीहरुले डा असिम बाटाजु (रुमेटोलोजीको फेलो) र डा चन्दन यादव (रेजिडेन्स चिकित्सक प्रथम वर्ष) माथि आक्रमण गरेका हुन् । चिकित्सकहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्वन्धी ऐनको कार्यान्वयन गर्दै आक्रमणकारीमाथि कार्वाही गर्न माग गरेका छन् ।

यसैबीच नेपाल चिकित्सक संघले पनि चिकित्सक माथि आक्रमण भएको भन्दै सुरक्षाका लागि राज्यको ध्यानाकर्षण गराएको छ । उसले जेष्ठ नागरिकको मृत्यु के कारणले भयो छानविन गरी यथार्त विवरण सार्वजनिक गर्न समेत प्रशासनको ध्यानाकर्षण गराएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*