१९ जेष्ठ २०८३, मंगलवार
2 June 2026,Tuesday

जंगीअड्डाले विवादास्पद उपरथीलाई प्रधानसेनापति राख्न सिफारिस

सोसल सेयर

जंगीअड्डाले विवादास्पद उपरथीलाई प्रधानसेनापतिको रोलक्रममा राख्ने गरी रथी बढुवाको सिफारिस गर्न सूचना प्रकाशित गरेको छ ।

सैनिक सेवा नियमावली, २०६९ मा भएको व्यवस्था अनुसार, जंगीअड्डाले उपरथी ताराध्वज पाण्डेलाई नेपाली सेनाको रथीमा बढुवा सिफारिसका लागि सूचना प्रकाशित गरेको हो ।

जंगीअड्डा स्रोतका अनुसार, युद्धकार्य विभागका प्रमुख उपरथी पाण्डेलाई ७ भित्र बढुवा सिफारिस गर्ने गरी २९ असोजमा सूचना प्रकाशित भएपनि हालसम्म फाइल अघि बढेको छैन ।

दशैं बिदा, अनि लगत्तै १० कात्तिकमा प्रधासेनापति प्रभुराम शर्मा चीन भ्रमणमा गएका कारण सिफारिस जंगीअड्डाबाट रक्षा मन्त्रालय पुगेको छैन ।

सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार, जंगीअड्डाबाट सूचना प्रकाशित भएको समयसीमा सकिएपछि मन्त्रिपरिषद्मा पठाइने प्रस्तावका आधारमा बढुवा सम्बन्धी निर्णय हुन्छ । रथी बढुवाको सिफारिस मन्त्रिपरिषद् गए नगएको आफूलाई थाहा नभएको भण्डारीले बताए ।

आइतबार (१२ कात्तिक) बाट रथी सरोजप्रताप राणाले अवकाश पाउँदै थिए । त्यसपछि हुने रिक्त हुने दरबन्दीका लागि जंगीअड्डाले यसपालि दुई साताअगावै बढुवा सिफारिस सूचना प्रकाशित गरेको थियो ।

सामान्यतः उमेर हदले नभट्ने भए पदावधि थप गर्ने चलन थियो । तर, यो पटक पाण्डेलाई अगाडि ल्याउन जंगीअड्डाले राणाको म्याद थप नगरेको अधिकृतहरु बताउँछन् । एक उच्च सैनिक अधिकृतका अनुसार, अधिकारीलाई परिस्थिति सहज भए प्रधानसेनापतिसम्म बनाउने योजना अनुरुप म्याद थप गरिएको भन्दै आलोचना भइरहेका बेला सेनापति शर्माले त्यसलाई रोक्न दुई साताअगावै बढुवा सिफारिसको सूचना प्रकाशित गरेका थिए ।

‘आलोचनालाई मत्थर पार्दै गुपचुप पाण्डेलाई अघि बढाउन प्रधानसेनापति शर्माले निकै अगाडि बढुवा सिफारिसको सूचना प्रकाशित गरेका थिए’, सैनिक स्रोतले भन्यो, ‘नभए दशैं विदाको मुखमा बढुवा सिफारिसको सूचना प्रकाशित गर्नु जरुरी थिएन ।’

अहिले शर्माले विवादास्पद पृष्ठभूमिका पाण्डेलाई अघि सार्दा त्यसले जंगीअड्डालाई फेरि विवादमा तानेको छ । रथी बढुवाका लागि पाण्डेसँगै उपरथी अशोक सिग्देल प्रतिष्पर्धामा थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*